Thursday 5 May 2011

भर्खरैको एक साँझ

भर्खरैको एक साँझ । इटहरी नगरपालिका अघिल्तिर बसिरहेको थिएँ म । सडकमा निर्वाध दौडिरहेका छन् सवारी । बन्दै गरेको शहर इटहरीमा काठमाण्डूको व्यवस्तता अलिकति सरेछ सायद । प्रत्येक मानिसहरू आ–आफ्नै व्यस्ततामा कुदेको देखिन्छ । पश्चिममा घाम गुड्दै–गुड्दै ओरालो खसिरहेको छ । म भने खेलो हराएको कामीजस्तो अलमल्लमा परिबसेको छु । सडक पारीको यौटा समूहमा प्रष्टै देखियो कवि तथा गीतकार गायत्री लम्साल । मैले गोजीको मोबाइल झिकेँ र डायल गरेँ अन्ठानब्बे पाँच बीस अठ्चालिस सात सय पैतीस । म देखिरहेको छु तिनले गोजीबाट फोन झिके । यता मैले कल ब्रेक गरिदिएँ । सायद यसैलाई मिस्डकल भन्छन् क्यारे । एकछिनमै फोन फर्काए तिनले । यता मैले फोन रिसिभ गरी ठट्यौली भाषामा भनेँ, “आज त कस्तो राम्रो देखिएको दाई तिमी ।” तिनले दायाँबायाँ हेरे र सिधै सडकवारि अर्थात मतिरै आँखा दौडाए । देखिहालेछन् र फोनमै भने, “थुइक्क तँ बजिया !”
¨¨¨

क्रमशः रात छिप्पिदै गइरहेको छ । पहाडजस्त्रो हृदय भएका प्रिय कवि तथा गीतकार गायत्री लम्साल दुई औँलाबीचमा शिखर चुरोट च्याप्छन् र झ्यार्रर....बाल्छन सलाइँ । विस्तारै सल्काउँछन शिखर र उढाउँछन् धुवाँ–फ्वाङ्ग....फ्वाङ्ग....। धुवाँले छोपिएर तिनको अनुहार मधुरो देखिन्छ । जसरी पहाडमा सेता बादल उड्दा छेकिन्छ रूखहरू । यी कविको मोबाइलको घण्टी बज्न थाल्छ निरन्तर । यिनले स्थानीय आवाजमा भन्छन्, “एकैछिनमा फोन गर्छु है मेरी बाबा ! अहिले म भीडभाडमा छु” । भीडभाडमा छु भन्दै यिनले कसलाई हो कुन्नी फेरि एकचोटी झूठ बोल्दिहाले । खासमा यी कवि भीडभाडमा नभएर सुनसान एकान्त र एक्लो कोठामा छन् आज । कवि तथा गीतकार लम्साल सिल्भरे गाग्रोजस्तै हो । जो पोखिएपछि हावाजस्तै गरी पोखिन्छन् । पोखाउँदा पनि रित्तो–रित्तो हुने गरी पोखाउँछन् आफूलाई । गीतका पंक्तिहरूमा पोखाउँछन्, कविताका हरफहरूमा पोखाउँछन् । नभए साथीसंगी र प्रेमिका सामु पोखाउँछन् र जीवन बाँचेको सार्थक अनुभूति गर्छन् ।
¨¨¨

‘रूस्लान भोड्का’ ग्लासमा तुरूरू....चुहियो । पानीको केही मात्र हालेर घटघट पिए । र गोजीबाट पावरदार चस्मा र यौटा खेस्रा कागज पल्टाएर पोखि थाले यी कवि–
पसिनाको खौ के कुरा, आँसुको त ठाउँ छैन
कस्तो माया लायौ तिमीले नदुखोको ठाउँ छैन ।
२०२५ साल भदौमा भोजपुरको दिङ्लामा जन्मिएका यी लम्साल जन्मजात कवि हुँ भन्छन् । त्यसमाथि लम्साल खलक नै कवि÷साहित्यकार हुनुले थप लेखनको लागि सहयोग मिलेको बताउँछन् । “म जन्मिएको भोजपुरमा घरको आँगन डिल–डिलदेखि रूखका पात र हाँगाहरूमा कविता हुन्थे । खोलो, खोल्सो, बनपाखा सबैतीर कविता रहेछ अहिले सम्झदा । म त्यही परिवेशमा जन्मे–हुर्केको मान्छे भएकोले त्यस्तो परिवेश आज पनि प्रिय लागिरहन्छ । तर कहाँ पाउनु अहिले यहाँ ? यहाँ त दिउँसै अपहरणमा परिने भयले जोगिएर हिँड्नुपर्ने बाध्यता छ ।”
भर्खरै आफूमाथि भएको आक्रमण र आफैले आफैलाई व्यङ्ग्य गर्छन यी कवि ।
हातमा सल्किरहेको शिखर चुरोटको अन्तिम सर्को मात्र बाँकी रहेको देख्छु । तिनले फेरि अर्को शिखर सल्काउँछन् । रातको समय छ । क्रमशः समयले हाम्रो आयू प्रत्येक सेकेण्ड चोरिरहेको छ । समयले घटाउँदै लगेको आफ्नै आयू सम्झेर चित्त बुझाउन खोज्छन् लम्साल–
जीवनमा पुग्ने कहाँ हो ? हिँड्ने कसरी ? यी सारा दुनियाँलाई थाहै छैन । पूर्ण जीवन बोध गर्नु छ भने कवि कलाकारलाई बोध गर्नु आवश्यक छ ।”
२०५४ सालमा पहिलो आफ्नो प्रकाशित कविता इटहरीबाटै प्रकाशन हुने सन्तुष्टि मासिकमा छपाएर आफ्नो लेखन यात्रा आरम्भ गरेका कवि लम्सालले आजसम्म सयाँै कविता र गीत लेखिसकेका छन् । त्यतिमात्र नभएर लम्साल लोकसंगीत र गायनक्षेत्रमा समेत प्रसिद्ध मानिन्छन् । यिनले लेखेका दर्जनौ गीतहरू स्वर–संगीतबद्ध भएर रेकर्ड भैसकेका छन् । बहुविधाका धनि गायत्रीलाई हेर्ने बाटाहरू धेरै छन् । यिनलाई राजनीतिज्ञ भनेपनि हुन्छ । वा कर्मचारी, गायक, कवि, गीतकार जुनसुकै आँखाले हेर्दा पनि सही देखिन्छ हाम्रो आँखा ।
¨¨¨

चित्त दुखायौ कि कसो बोल्दा नि बोल्दिनौ नि
हिजोभन्दा आज निक्कै फरक देखिन्छौ नि ।
कुनै समय यी माथिका हरफहरू गाउँदै गीतकार लम्साल हुरूक–हुरूक हुन्थे । खप्नै नसकेर भन्थे, “कसम ओ बाकटे ! मेरो हृदय छ यो गीतमा । मेरो दिलदेखि लेखेको गीत हो यो । मैले दिल तप्काएको छु यो गीतको लाइन–लाइनमा ।” साँच्चै आफूले असाध्यै माया गरेको मान्छे विस्तारै टाढिन थालेपछि के गर्ने ? यही गीत गाउनु सिवाय । प्रेममा फाटेका प्रत्येक प्रेमी प्रेमिकाले “चित्त दुखायौ कि कसो” मन्त्र माने पनि हुन्छ । रेकर्ड भइसकेको यो गीत लम्सालका गीतहरूमध्येकै उत्कृष्ट गीतको सूचीमा पर्छ ।
¨¨¨

हृदयलाई तप्काउँदै यिनले, ‘रूस्लान भोड्का’ घाँटीबाट तप्काउन कम गरेको होइन । रातले निक्कै च्यापिसकेको छ । यी कवि अझै तप्काइरहन्छ अझै हृदयलाई । २०४६ सालदेखि कम्यूनिष्ट क्रान्तिमा होमिएका यिनी साँच्चिकै जनताका गायक हो भन्ने कुरा उनकै यी गीतहरूले पुष्टि गर्छन्–
आफै हलो जोत्ने दाई, आफै फसल लाउने दाई
किन तिम्रो मंसीरमा चूल्हो बल्दैन
आफै लोटा बनाउने, आफै कुवा खानाउने
किन तिम्रो हातको पानी चल्दैन ।

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls